वाणिज्य बैंकले माघमा ब्याजदर घटाउने
पोखरा
वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् ।
बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा १५ दशमलव ३३ प्रतिशतसम्म ब्याज रहेको छ ।
माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् । बैंकर्स सङ्घको अध्यक्षमा सुनिल केसी चयन भएका छन् ।
बुधबार सम्पन्न विशेष साधारणसभामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मतरूपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि केसी सङ्घको उपाध्यक्ष रहेका थिए । यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै सङ्घको अध्यक्ष पद खाली भएको थियो ।
प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि सङ्घको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था रहेको छ । नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स सङ्घको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सङ्घको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआईसी एसिया बैंकका रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकको सुदेश खालिङ र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा छन्।