गण्डकी प्रदेश सभामा उपसभामुखको निर्वाचन हुँदै
पोखरा
गण्डकी प्रदेश सभामा सोमबार उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली कांग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी छ ।
सभामुख भने यसअघि नै नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल चयन भइसकेका छन् । गण्डकी प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत छ र उनीहरुबीचको भागवण्डामा सभामुख माओवादी केन्द्र र उपसभामुख नेकपा एमालेले लिने सहमति भइसकेको छ ।
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङे छन् । तर, माओवादीका सांसद कृष्ण धिताल सभामुख भएकाले मत हाल्ने छैनन् । सभामुखको निर्वाचनमा स्वतन्त्र सांसद दीपक मनाङेले पनि मत हालेका थिए ।