गण्डकी प्रदेश सरकारले केही दिनभित्रैमा पूर्णता पाउँछ : प्रवक्ता सुन्दास



पोखरा

गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको ११ दिन बितिसक्दा मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन ।

मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ कुनै टुङ्गो छैन । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले केही दिनभित्रैमा सरकारले पूर्णता पाउने बताइन् । “मन्त्रालयको संख्या घटाएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ, मुख्यमन्त्रीज्यूले शुरुदेखि नै यसैमा जोड दिइरहनुभएको छ”, उनले भनिन् ।

सत्तारुढ दलबीच मन्त्रालय घटाउने र मन्त्रीको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल भइरहेको प्रवक्ता सुन्दासले उल्लेख गरिन् । दुई/तीन दिनभित्रैमा यो विषय टुङ्गोमा पुग्ने उनको भनाइ छ । हाल रहेका १२ मन्त्रालयलाई घटाएर सातमा पुर्याउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तयारी छ । यसअघि प्रदेशसभाका उपसभामुखको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि त्यसो हुन सकेन । उपसभामुख निर्वाचित भएको पनि चार दिन बितिसकेको छ ।

मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरू कामविहीन स्थितिमा छन् । विभागीय मन्त्री नहुँदा मन्त्रालयका कामकारबाही पनि प्रभावित हुने देखिएको छ । गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए । बिनाविभागीय मन्त्रीको हैसियतामा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान, नेकपा (एमाले) बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja