सांसद अरुण चौधरी जेल चलान
पोखरा
कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद अरुण चौधरी जेल चलान भएका छन् । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलालीमा बुझाएपछि अदालतले चौधरीलाई जेल चलान गरेको हो । फरार सूचीमा रहेका चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरेको थियो ।
चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा काठमाडौं लगेको थियो । काठमाडौंबाट उनलाई बिहीबार नै जहाजमा धनगढी ल्याएको थियो । सांसद चौधरी नौ वर्षदेखि फरार थिए ।
गत मंसिर ४ गतेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए । कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा गरेका थिए ।
विसं २०७० वैशाख ९ मा कैलाली जिल्ला अदालतले सांसद अरुणकुमार चौधरीसहित पर्शुराम र वीरबहादुर गरी तीन जनालाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतले पीडितलाई रू आठ लाख १८ हजार चार सय २३ क्षतिपूर्ति उपलब्ध गराउनेसमेत फैसला भएको थियो ।