हुप्सेकोटमा दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान
पोखरा
हुप्सेकोट गाउँपालिकाले दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन थालेको छ ।
गाउँपालिकाभित्र रहेका दुई वटा दुग्ध सहकारीमार्फत त्यस्तो अनुदान रकम वितरण थालिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालले दूध उत्पादन कार्यमा संलग्न कृषकलाई प्रोत्साहन गर्न सहयोग पुगोस् भन्नका लागि त्यसरी अनुदान रकम वितरण गरिएको सुनाए ।
उनले आउँदो एक वर्षमा कम्तीमा ८०, ९० हजार लिटर दूध यी सहकारीमार्फत बिक्री हुने अपेक्षा गरेको जानकारी दिए । पालिकाले दुग्ध सहकारीले उपलब्ध गराएको तथ्यांकका आधारमा अनुदान रकम दिने व्यवस्था गरेको हो । अनुदान रकम सोझै साना कृषकको हातमा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको बस्यालले बताए । हुप्सेकोट गाउँपालिकाले कृषकले पशु बिमा गर्दा लाग्ने प्रीमियम रकमको ५० प्रतिशत अनुदान दिँदै आएको छ ।