गलकोटको दरमखोलामा बाढी
पोखरा
गत शनिबार रातिदेखि परेको वर्षाले गलकोट नगरपालिकाको मध्यभागबाट बग्ने दरमखोलामा बाढी आयो । बाढीले आसपासका संरचना बगायो ।
बाढीले खोला किनारका केही घरटहरा बगाएको सूचना प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई आयो । श्रेष्ठले तत्काल सुरक्षा निकायका प्रमुखलाई यो खबर गरिन् । उनले नेपाली सेनाको खोजी तथा उद्दार टोलीलाई जानकारी गराएर उद्दारमा खटिन आदेश दिइन् । जिल्ला सुरक्षा समितिको प्रमुखको नाताले श्रेष्ठको आदेशले नेपाली सेनाको घोडाबाँधेस्थित श्रीमेहर गणबाट प्रमुख सेनानी देवभक्त माडी श्रेष्ठको नेतृतवमा अपरेशन इन्चार्ज सेनानी अभय थापासहितको खोजी तथा उद्दार टोली गलकोट प्रस्थान गर्यो ।
गलकोट नगरपालिका वडा नं ७ को आँगखेत मुनिको ढलेपिपलमा ठूलो पहिरो गएको थियो । दरमखोलाको बाढी र पहिरोले खोला थुनिएर ताल बनेको थियो । उक्त तालमा केही मानिस फसेको सूचना प्राप्त भएकोले डुबेका नागरिकको खोजी र उद्दारमा एक टोली खटियो । खोलामा बगेका नागरिकको खोजीमा अर्को टोली खटियो । घाइतेको उपचारमा मेडिकल टिम खटिएको थियो । एम्बुलेन्सहरु तयारी अबस्थामा थिए । सेनाले डोरीको सहायताले तालमा फसेकालाई उद्दार गरेर प्राथमिक उपचार गरायो । कृत्रिम श्वास दिएर होसमा ल्याउने काम गर्यो । बाढीले बगेकाहरुलाई भेटाएर उनीहरुको घाउमा औषधि उपचार र पट्टी बाँधेपछि एम्बुलेन्स मार्फत उपचारकालागि अस्पतालमा पठाइयो ।
सामान्य घाइतेहरु प्राथमिक उपचारपछि घर फर्के । घरटहरा बगेकाहरु रोइकराइ गरिरहेका थिए । उनीहरुलाई सम्झाउने र बुझाउने काम भयो । जिल्ला सुरक्षा समितिबाट राहत दिएर उनीहरुलाई खानेबस्ने व्यवस्थापन सुरक्षा समितिले गर्यो । रेडक्रसले पाल तथा भाँडाकुँडा सहयोग गर्यो । स्थानीय तहका प्रमुख, वडा अध्यक्षहरु ल्गायतले स्थानीयलाई समाजमा पुनःस्थापनाकालागि भूमिका खेले । उनीहरुका भत्केका/बगेका घरटहरा बनाउने काममा स्थानीय तहले सहयोग गर्ने नगर प्रमुख भरत शर्मा गैरेले बताए ।
सोमबार दिनभर गलकोटमा भएका ती डरलाग्दा घटना सबै कृत्रिम थिए । नेपाली सेनाले बाढी पहिरोबाट बच्ने र संभावित जोखिम न्युनिकरणकालागि गरेको कृत्रिम घटना अभ्यास भएपनि गलकोटमा सोमबार बास्तविक घटना झै देखिन्थ्यो । नागरिक पनि एम्बुलेन्सको साइरन सुनेर घटनास्थल तर्फ दौडेका थिए । उनीहरुले पहिला वास्तविक घटना झै हेरेपछि दुर्घटना भइहालेमा गर्नुपर्ने उद्दारको नमूना सिक्न पाएको स्थानीय आरजे सहानीले बताए ।
शनिबार दिउँसोदेखि नै यहाँ वर्षात् भएकोले आइतबारको घटना पनि वास्तविक झै लागेको स्थानीय थम्मन थापाले बताए । ‘शनिबार राति वर्षात् भएकोले घटना यथार्य जस्तै देखियो,’ उनले भने, ‘आम नागरिक र समाजका स्वयंसेवीलाईपनि यो अभ्यासले सर्तक रहन सिकाएको छ ।’ सेनाले तीन दिनअघिदेखि नै स्थानीय ३१ जना नागरिकलाई घटना अभ्यासबारे तालिमसमेत दिएर आइतबारको कार्यक्रममा परिचालन गरेको थियो ।
सेनाका तालिम प्राप्त १ सय ५० जनाको उद्दार टोलीले त घटनामा प्रत्यक्ष रुपमा पानीमै डुबेर काम गरेका थिए । तालमा डुबेकालाई लाइफ ज्याकेट लगाएपछि उद्दारमा सहज भएको थियो । बगेर घाइते भएकोले प्राथमिक उपचारमा बढी ध्यान दिइएको थियो । ‘विपत् बाजा बजाएर आउँदैन भन्ने सन्देश दिन यो काम गरिएको थियो,’ प्रमुख सेनानी श्रेष्ठले भने, ‘नागरिकको सुरक्षा र बिपद न्युनिकरणमा सेनाले कसरी काम गरेको छ भन्ने यो सन्देश पनि हो ।’