कास्की अन्नपूर्ण गाउँपालिकामा अनलाइन राजस्व भुक्तानी सेवा सुरू
पोखरा
कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ ।
सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पङ्गेनी र अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले संयुक्तरूपमा अनलाइन सेवाको शुभारम्भ गरेका हुन् । सेवाग्राहीले अब गाउँपालिकाको करदाता ‘पोर्टल’ खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् ।
हाल कनेक्ट आइपिएस र ईसेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत इञ्जीनियर सूर्य तिमिल्सिनाले जानकारी दिए । स्थानीय तह भुक्तानी विकल्पमा गएर अन्नपूर्ण गाउँपालिका छनोट गरी सिधैँ भुक्तानीसमेत गर्न सकिने ई. तिमिल्सिनाले बताए । अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसीले प्रविधिको युग भएकाले त्यसैअनुसार आफूहरू अगाडि बढिरहेको बताए ।
प्रविधिको प्रयोगले समग्र कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउने भएकाले प्रविधिलाई आत्मसात् गरेको उनको भनाइ थियो । यसअघि नै गाउँपालिकाले क्यूआर कोडमार्फत भुक्तानी लिएर बिल काट्न सुरु गरेको थियो । यसका लागि पालिकाको कार्यालय जानैपर्थ्यो। अब भने त्यो बाध्यता हटेको छ । हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका तीन हजार पाँच सयभन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन् ।