सभापति देउवाद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त



 

पोखरा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य, पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, कांग्रेसका धरोहर बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान ४ बजे सिफल हाइट, काठमाडौँमा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् । 

लेखक तथा साहित्यकार बस्नेतको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै सभापति देउवाले कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उनले पुर्‍याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताए। उनको निधनबाट कांग्रेसले बहुआयमिक व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्वसभापतिसमेत रहेका बस्नेत हाल जननायक बीपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए । राजनीतिकर्मी, साहित्यकार, सम्पादक र समाजसेवी बस्नेत बहुआयमिक व्यक्तित्वको धनी थिए ।

लामो समयसम्म कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गरेका बस्नेतले ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई जस्ता महत्वपूर्ण कृति लेखेका छन् । गोरखापत्र संस्थानको पूर्व कार्यकारी अध्यक्ष समेत रहेका बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका थिए । लामो समयसम्म कांग्रेसको प्रेस प्रमुख र पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले कुशलतापूर्वक कार्य गरेका थिए ।

कांग्रेसको इतिहासका जानकार बस्नेतले राजनीतिक जीवन यात्राका विभिन्न समयमा नौ वर्ष जेल जीवनसमेत व्यतीत गरेका थिए। उनी अत्यन्त शालीन, सादगी र सरल व्यक्तित्वको रुपमा परिचित थिए । नेपालको राजनीतिक एवं सामाजिक रूपान्तरणको अभियानमा संलग्न रहँदै गर्दा अविवाहित रहेर सामेल भए। उनको निधनबाट कांग्रेसले एक असल, अनुभवी, इतिहासका जानकार व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja