तनहुँमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
पोखरा
जिल्लाको म्याग्दे गाउँपालिका–६ स्थित अकलामा आइतबार बेलुका घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २१ वर्षीय बिमल थापा रहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । उनका अनुसार थापा घरबाट एक किलोमिटर उत्तरतर्फ रहेको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक करेन्ट लागी रुखबाट भुइँमा लडिरहेको अवस्थामा भेटिएका थिए ।
करेन्ट लागी घाइते अवस्थामा फेला परेका थापालाई उपचारको लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।