गलकोट नगरपालिका ‘बालमैत्री नगर’ घोषणा



पोखरा

गलकोट नगरपालिका ‘बालमैत्री नगर’ घोषणा भएको छ ।

शनिबार विद्यार्थी, अभिभावक, शिक्षासेवी र स्थानीयको सहभागितामा गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री सुशीला सिंखडाले बालमैत्री नगर घोषणा गरिन् । आवश्यक ५१ सूचक पूरा गरेपछि गलकोट नगरपालिका बालमैत्री घोषणा भएको हो ।

तीन वर्षदेखिको प्रयासबाट उपलब्धि हासिल गर्न सफल भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । गलकोट जिल्लाको पहिलो र गण्डकी प्रदेशको तेस्रो बालमैत्री नगर बनेको छ । यो अभियान पूरा गर्न नगरपालिकाले प्रदेश र संघीय सरकार समेतको सहकार्यमा २ करोड रकम खर्च गरेको थियो । त्यसबाहेक बालमैत्री भौतिक पूर्वाधार बनाउने, बालमैत्री समुदाय निर्माण र बालबालिकाप्रतिको हेर्ने दृष्टिकोणसमेत सकारात्मक बनाउने अभियानमा करोडौं रकम खर्च भएको हो ।

यसअघि वैशाखमा गलकोटका ११ वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त सूचक पूरा भएको घोषणा गरिसकिएको थियो । तोकिएका सूचकबारे जिल्ला समन्वय समिति र मुख्यमन्त्री कार्यालयले स्थलगत अनुगमन र अवलोकन गरेपछि घोषणाका लागि अनुमति दिएको थियो । यो घोषणापछि पनि नगरपालिकाले नियमितरुपमा बालमैत्री अभियानको अद्यावधिक कामका लागि नीति तथा कार्यक्रम र बजेटसमेत बनाउने गैरेले जानकारी दिए । ‘तीन वर्षदेखिको प्रयासबाट मात्र सम्पन्न गरेका हौं,’ गैरेले भने, ‘नगरको प्रशासकीय भवनसहितको पूर्वाधारलाई पछि पारेर मानवीय सूचक पूरा गर्ने अभियान अगाडि थालेको परिणाम अहिले सार्थक भएको छ ।’

बालमैत्री अभियान बनाउने क्रममा शिक्षा क्षेत्रका १४ र स्वास्थ्य क्षेत्रका १२ वटा सूचक तथा अन्य सूचक समुदाय र पूर्वाधारको तहमा पूरा गर्नुपर्ने खालका छन् । तीमध्ये २० वर्ष काटेपछि मात्रै विवाह गर्न पाउने कानुनी प्रावधानले बालमैत्री अभियानको घोषणामा ढिलाई भएको थियो । छिटफुट रुपमा बालविवाह देखिँदा हरेक समुदायमा पुगेर अभिमुखीकरण गर्ने र सचेतना जगाउन बढी समय खर्चनु परेको सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले जानकारी दिए । अनुगमनको क्रममा पनि बालविवाह नभएको पाएपछि मात्रै घोषणा संभव भएको हो ।

आगामी दिनमा पनि खानेपानीका धारा बनाउनेदेखि भवन निर्माण संहिता पालना गर्ने, निकृष्ठ बालश्रम उन्मूलन गर्ने र शतप्रतिशत बालबालिका शिक्षा र स्वास्थ्यको पहुँचमा लैजाने काममा पनि नगरले अगुवाइ गर्ने नीति बनाएको उपप्रमुख फमलाल निउरेले बताए । हरेक वडामा सुरक्षित प्रसूति सेवासहितको बर्थिङ सेन्टर, ती सेन्टरमा दक्ष स्वास्थ्यकर्मी, विशेषज्ञ सहितको आफ्नै नगर अस्पताल संचालनमा आएपछि बालमैत्री अभियानका सूचक पूरा भएका हुन् । गलकोटले स्वास्थ्य चौकीको पहुँच नपुगेका केही स्थानमा सामुदायिक स्वास्थ्य इकाई र बर्थिङ सेन्टर स्थापना गरेको छ । नगरमा ल्याब र एक्स-रे सेवा विस्तार भएको छ ।

वडा र समुदाय तहसम्म बालमैत्री स्थानीय शासन कार्यान्वयन समितिमार्फत हरेक सूचकको अनुगमन गर्ने र केही अपुग भएमा त्यसमा नगरले काम गर्ने संयन्त्र बनाइएको छ । ‘बालबालिकासम्बन्धी ५ वर्षे रणनीतिक योजना पनि बनाएका छौं,’ गैरेले भने, ‘हरेक बालबालिकाले सुरक्षित जन्मेर खोपसहित गाँस, बास र अभिभावकको माया पाउने आधार पनि बनाएका छौं ।’ कोही पनि सडकमा अलपत्र बालबालिकासमेत नभेटिने सुनिश्चिततासहित बालमैत्री घोषणा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja