नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु
पोखरा
नारायणी नदीमा डुबेर पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा १५ वर्षीय एक किशोरको मृत्यु भएको छ । गर्मी छल्नका लागि नारायणी नदीमा पौडी खेल्न गएका स्थानीय संयोग ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए ।
सोमबार बेपत्ता भएका ढकाल मंगलबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले बताए । मृत अवस्थामा फेला परेका ढकालको शवलाई पोष्टमार्टमका लागि देवचुली नगर अस्पताल, दुम्कौलीमा राखिएको छ । जिल्लामा गर्मी बढेसँगै नारायणी नदी र खहरे खोलामा पौडी खेल्नका लागि जाने सर्वसाधारणको भीड लाग्ने गरेको छ । तर सावधानी नअपनाउँदा बर्सेनि सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।