जिप्रका गोरखाद्वारा क्यान्सरपीडित महिलालाई अस्पतालमै पुगेर नागरिकता वितरण
पोखरा
जिल्ला प्रशासन कार्यालय गोरखाले क्यान्सरपीडित महिलालाई अस्पतालमै पुगेर नागरिकता वितरण गरेको छ ।
स्तन क्यान्सर भई टिचिङ अस्पताल काठमाडौंमा उपचाररत पालुङटार नगरपालिका ७ च्याङलीकी ३० वर्षीया रविना माया दरैलाई अस्पतालमै पुगेर नागरिकता उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए ।
नागरिकता नहुँदा दरै विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७५ का आधारमा प्राप्त हुने अवसर तथा आर्थिक सहायताबाट वञ्चित थिइन् । प्रशासन कार्यालय आएर नागरिकता लिन असहज अवस्था देखेपछि श्रीमान्को सनाखतलगायत प्रक्रिया पूरा गरेर शनिबार प्रशासनको टोली नागरिकता उपलब्ध गराउन दरै उपचाररत अस्पताल पुगेको थियो । ‘अस्पतालको आईसीयू कक्षमा उपचाररत हुनुहुँदो रहेछ,’ रानाले भने, ‘बिदाको दिन अस्पताल नै पुगेर नागरिकता प्रदान गरेका हौं ।’