पोखरा विमानस्थलमा भोली चिनियाँ जहाज अवतरण हुने
पोखरा
जनवरी १, २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भाेलि बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।
चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने भएको हो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर जहाज बुधबार ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्ने कार्यतालिका रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उक्त जहाज १ घण्टा पोखरामा होल्ड भएर काठमाडौँ आउने र सोही दिन चीन फर्किने समेत निरौलाले जानकारी दिए ।
खासगरी दक्षिण एसियामै पहिलोपटक पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिबलको अवसरमा चार्टर्ड फ्लाईट हुन लागेको हो । पोखरा महानगरपालिका, चिनिया दूतावास र पर्यटन बोर्डको संयुक्त कार्यक्रममा असार ८ र ९ गते पोखरामा बोट रेस आयोजना हुँदैछ । सोही बोट रेस कार्यक्रमका लागि खेलाडीसहित १२० भन्दा बढी चिनियाँ पर्यटकहरू उक्त जहाजमार्फत नेपाल आउँदैछन् ।
सोही अवसरमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमा पोखरामा झर्नेछन् ।जेठ २७ गते अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा साता लामो चीन भ्रमणमा गएका छन् । यी भ्रमण टोलीका सबै नौ जना नै पोखरा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको प्रवक्ता निरौलाले जानकारी दिए ।