पुरातात्विक महत्वको प्राचीन बुद्धको मूर्तिसहित ५ जना पक्राउ
पोखरा
बर्दियामा बुद्धको पुरानो मूर्ति किनबेच गरिरहेका पाँच जनालाई पुरातात्विक महत्वको बुद्धको मूर्तिसहित प्रहरीले पक्राउ गरेको छ ।
बर्दियाको गुलरिया नगरपालिका–७ मा रहेको विजय गेष्ट हाउसमा केही मानिसहरु बहुमूल्य धातुको बुद्ध मूर्ति करौडौं रुपैयाँमा किनबेच गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ का ४० वर्षीय निराजन उप्रेती, मधुवन नगरपालिका–१ का ३४ वर्षीय उज्वल रोकाय, वडा नम्बर ९ का ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका–९ का ३२ वर्षीय ईश्वर प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका–२ का २९ वर्षीय मग बहादुर नेपाली रहेका छन्।
प्रहरीले विजय गेष्ट हाउसको कोठा नम्बर ३ सय २८ मा चेकजाँच गर्दा किनबेच गर्न राखिएको बुद्धको मुर्ति बरामद भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।