गण्डकी प्रदेशको सहयोगमा पहिलो पटक स्याङ्जाको भीरकोटमा अफलाइन कक्षा परीक्षण



पोखरा

स्याङ्जा, भीरकोट नगरपालिका–१० मा पर्ने दहथुम माविमा अध्ययनरत विद्यार्थीले लकडाउनभरि अनलाइन कक्षाका नाममा यस्तै तनाव भोगेर बिताए । तर, शनिबार स्कुलमा पुग्दा उनीहरुको अनुहारमा अर्कै रौनक थियो । हातहातमा मोबाइल समातेर कक्षा लिइरहेका थिए, न त्यहाँ मोबाइल डाटा खुला थियो न वाइफाइ ।

गण्डकी प्रदेशको सहयोगमा दहथुम माविले प्रदेशभरिमै पहिलो पटक ‘अफलाइन’ कक्षाको परीक्षण गरेको छ । पिडी स्मार्ट एजुकेसन संस्थाको सहयोगमा दहथुममा ‘ईगुरु’ अफलाइन कक्षाको परीक्षण सुरु भएको हो । उक्त एप सफल भएमा विद्यार्थीले पाठ्यपुस्तक इन्टरनेटबिनै पढ्न पाउने छन् ।

अफलाइन कक्षा एप डाउनलोड गरेपछि अब आफूले चाहेकै बेला आफूले पढ्न पाउने कक्षा १० मै पढिरहेकी प्रतीक्षा थापाले सुनाइन् । ‘एपले धेरै सहज बनाएको छ ।

गाउँगाउँमा सबैसँग अनलाइन कक्षा लिन इन्टरेनेटको पहुँच थिएन । अब नबुझेको कुरा पनि पटक पटक आफैं सुनेर बुझ्न पाइने भो,’ उनले भनिन् ।

एपको उद्घाटन गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गरेका हुन् । एप परीक्षण कार्यक्रममा उनले घरघरमा इन्टरनेट र विद्युत पुर्‍याउन नसके पनि अफलाइन कक्षा सुरुआत गरेर शिक्षण पद्धतिमा परिवर्तन ल्याउन खोजेको उनले बताए ।

‘यो अहिलेलाई परीक्षण हो । आजको शिक्षा लिने समय भोलिका लागि सोचेर हुँदैन । अहिले पाइने शिक्षा एक महिनापछि लिएर पनि हुँदैन,’ मन्त्री श्रेष्ठले भने, ‘यो अफलाइन शिक्षाले कोभिडका कारण थलिएको शिक्षा क्षेत्रलाई थोरै भए पनि भरणपोषण गर्ने विश्वास छ ।’

कोभिड महामारीका कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिरहेको र सबैका लागि अनलाइन कक्षा पनि भरपर्दो नभएकाका लागि अफलाइनबाटै कक्षा सञ्चालन गर्न सकिने एपको डिजाइन भएको प्राविधिक देवराज पौडेलले जानकारी दिए ।

‘सबैको पहुँचमा इन्टरनेट छैन । फेरि अनलाइन कक्षा सबै विद्यार्थीको समस्याको समाधान पनि होइन,’ एपका जानकार पौडेलले भने, ‘यो अफलाइन एपले सबैलाई समेट्ने विश्वास लिएका छौं ।’ एप एकपटक डाउनलोड गरेपछि अन्य समयमा नेट नचाहिने उनले जानकारी दिए ।

हाललाई ६ देखि १० कक्षासम्मका सम्पूर्ण अनिवार्य पाठ्यपुस्तक समेटेर एप निर्माण गरिएको छ । प्रत्येक विषयको प्रत्येक पाठका लागि भिडियोबाटै प्रयोगात्मकसमेत बनाइएको पौडेलले जनाए । ‘सम्बन्धित विषयवस्तु र पाठलाई सजिलो गरी बुझ्ने गरेर भिडियो र एनिमेसन बनाइएको छ । यसले विद्यार्थीलाई बुझ्न सजिलो हुन्छ,’ उनले भने, ‘ऐच्छिक विषय भने यस समावेश गरिएको छैन ।’

गण्डकी प्रदेश शिक्षा निर्देशनालय प्रमुख अम्बिका आचार्यले उक्त अफलाइन शिक्षण पद्धति सफल भएमा गण्डकीका १ हजार ४४८ विद्यालय नै लाभान्वित हुने दाबी गरे ।

अहिले ६ देखि १२ सम्म प्रदेशभर ३ लाख बढी विद्यार्थी अध्ययनरत छन् । यो शिक्षण पद्धति सफल भए शिक्षा क्षेत्र परिवर्तनमा ऐतिहासिक कदम हुनेछ,’ उनले भने ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले अफलाइन कक्षा सफल भएमा सरकारीमात्रै नभएर नगरभित्रका निजी स्कुलसँग पनि आफूहरु सहकार्य गर्न तयार रहेको बताए । शिक्षिका इन्दिरा खत्रीले कक्षामा जसरी अध्ययन गराइन्छ, एपको भिडियोलेसमेत त्यसरी नै पढाउने भएकाले विद्यार्थीलाई सजिलो हुने दाबी गरिन् ।

कोरोना महामारीले भौतिक कक्षा अनिश्चित बनेपछि सरकारले ०७७ असार १ गतेबाट अनलाइन कक्षा चलाउन अनुमति दिएको थियो । पछि पहिलो चरणको महामारी केही मत्थर भएपछि मंसिर पहिलोबाट भौतिक उपस्थितिमै कक्षा सुरु गरिएको थियो ।

तर, कोरोना दोस्रो लहरका कारण वैशाख दोस्रो हप्तादेखि पुनः भौतिक कक्षाहरु बन्द सँगै अनिश्चित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja