फागुन ६ गतेदेखि पोखरामा अन्नपूर्ण केबलकार सञ्चालनमा आउँदै
पोखरा
पोखराको पर्यटकीय स्थल फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केबलकार फागुन ६ गतेबाट सञ्चालनमा आउने भएको छ ।
पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको केबलकार फागुन ६ गते सफ्ट ओपनिङ गरी व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन लागिएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताउनुभयो ।
‘ फेवा किनारबाट साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय,सूर्यास्तसँगै हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई जोड्ने गरी हामीले निर्माण गरेको केबलकार अव सञ्चालनमा आउने पक्का भएको छ’, निर्देशक त्रिपाठीले भन्नुभयो, ‘ कोभिड महामारीका कारण सिर्जित विविध समस्याका कारण हामीले पटक पटक घोषणा गरेको सञ्चालन मिति सर्दै आएको भए पनि अब ६ गतेलाई भने फिक्स भएको छ ।’
शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि निर्माण गर्दै जाँदा हाल दुई अर्ब रुपैयाँ लागत पुगेको त्रिपाठीले बताउनुभयो । केबलकारको माथिल्लो स्टेसनमा निर्माण गरिएको भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप तथा अतिरिक्त जग्गा खरिदले गर्दा लागत मूल्य बढेको उहाँको भनाई छ । ‘हामीले पछिल्लो क्रममा केबलकारको रुटमा पर्ने निजी आबादीको २० रोपनी भन्दा बढी जग्गा खरिद गर्यौ, त्योसँगै केबलकारसँग जोडेर विविध भौतिक संरचनाहरू निर्माण गर्यौ जसले लागत धेरै बढायो’, त्रिपाठीले भन्नुभयो ।
केबलकारको दुई हजार ४०० मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिने त्रिपाठीले बताउनुभयो । केबलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गण्डोला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गण्डोला जडान गरिएको छ । केबलकारमा ३५ वटा यात्रु बोक्ने गण्डोला जडान गर्न सकिने उल्लेख गर्दै निर्देशक त्रिपाठीले पर्यटकको माग र चाप अनुसार गण्डोला थप गर्दै लगिने बताउनुभयो ।
केबलकारमा यसअघि टिकटको मूल्य नेपाली पर्यटकलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ, एसियनलाई ७ सय र अन्य मुलुकका पर्यटकलाई ८ सय रुपैयाँ निर्धारण गरिएको भए पनि त्यसमा थोरै परिमार्जन गरी सार्वजनिक गरिने निर्देशक त्रिपाठीले बताउनुभयो।