पोखराका मेयर उम्मेद्वार धनराजले चुनाव नजित्दै मागे संघबाट बजेट
पाेखरा
एमालेकाे गढ मानिएका पाेखरा महानगरका वडाहरूमा गणना चलिरहेकाे थियो ।
१५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिब दोब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडामा आइपुग्नुअघि केही मतले मात्र गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका थिए । सबैकाे ध्यान यिनै वडाहरुमा थिए, कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ ।
यस्तै अन्याेलका बीच गठबन्धनका मेयर उम्मेद्वार धनराज आचार्य आइतबार काठमाडौँ गए । पाेखराका प्रमुख याेजनाहरू संघ सरकारलाई बुझाए ।
विशेषगरी ल्याण्डफिल साइट स्थानान्तरण गर्न उनको माग छ । निर्माणाधीन पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न ल्याण्डफिल हटाउनुपर्ने पहिलाे सर्त छ । अघिल्लो जनप्रतिनिधिले ५ वर्षे कार्यकालमा गर्न नसकेकेा ल्याण्डफिल सार्ने योजनामा अहिले गठबन्धन उम्मेदवारले पहिलाे चासाे दिए ।
त्यहाँबाट ल्याण्डफिल सारेर आवश्यक बजेट मागेको एकीकृत समाजवादीका आचार्यले बताए । `पाेखराकाे प्रमुख चिन्ता ल्याण्डफिल हाे । याे सार्नुपर्छ उनले भने, अहिले संघ सरकारले बजेट बनाउँदै छ। यही वर्ष बजेट नहाले ढिलो हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएको छु ।´
उनले पोखरालाई पर्यटकीय राजधानी घाेषणाकाे माग राखेर आएका छन् । `पाेखरा पर्यटनकाे राजधानी हाे । मौखिक रुपमा सबैले भनेका छन्, तर आधिकारिक घोषणा किन नगर्ने ?´ उनी भन्छन्, `यसपालि नीति तथा कार्यक्रममा याे एजेण्डा राख्नुपर्छ भनेकाे छु । सायद सम्बोधन हुन्छ ।´ पोखरामा मतगणना जारी छ ।
अब तीन हजार मत गन्न बाँकी छ । चुनाव जित्ने पक्का भएकै कारण आफू काठमाडौँ पुगेर बजेट छुट्याउन आग्रह गरेकाे उनले बताए । आचार्यले अहिले चुनाव जितिसकेका छन् । गणना गर्न बाँकी मतभन्दा उनको अग्रता बढी भएपछि चुनाव जितेका हुन् ।