अनेरास्ववियु द्वारा आज पोखरामा सरकारी गाडी चलाउन रोक
पोखरा
नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)कास्कीले आज केन्द्रीय सदस्य महेन्द्र उपाध्याय पक्राउ परेको विरोधमा कास्कीमा सरकारी गाडी चलाउन रोक लगाएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गत हप्ता अखिलको केन्द्रीय कार्यक्रमअनुसार कास्की जिल्ला कमिटीले पोखरामा सरकारी गाडी सञ्चालन रोकेको थियो ।
त्यतिबेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको शासकीय सुधार तथा समन्वय महाशाखा सचिव मनमाया भट्टराई पंगेनीको गाडी पनि रोकिएको थियो । त्यसमा असन्तुष्ट सचिव भट्टराईले अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएपछि अखिलका केन्द्रीय सदस्य महेन्द्र सोमबारदेखि प्रहरीको नियन्त्रणमा छन् । उनको रिहाइ माग गर्दै अखिलका विद्यार्थी विरोधमा उत्रिएका हुन् ।