तनहुँमा खाना पकाउने ग्यास पड्किएर आगलागी हुँदा एक बालिकाको मृत्यु
पोखरा
तनहुँको भिमाद नगरपालिका–९ मा खाना पकाउने ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ११ वर्षीया सुवेक्षा केसी रहेको प्रहरीले जनाएको छ । शुक्रबार राति ७ बजे स्थानीय शिवनारायण केसीको घरमा ग्यास सिलिण्डर पड्किएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
उनका अनुसार टिनले छाएको दुईतले घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा शिवनारायणकी छोरी सुवेक्षाको घटनास्थलमै मृत्यु भएको हो ।
आगलागीबाट घरमा क्षति पुगेको छ । घरको तल्लो तल्लामा किराना पसलसमेत सञ्चालन गरिएकोमा पसलका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।