स्याङ्जाको जिसस प्रमुखमा कांग्रेस विजयी



पोखरा

 स्याङ्जा जिल्ला समन्वय समिति (जिसस) मा गोला प्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) ले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्व चयन गरेका हुन् ।

एघार स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११/११ जना निर्वाचित भएपछि प्रमुखसहित चार सदस्य र उपप्रमुखसहित पाँच सदस्य रहने गरी गोलाप्रथा गरिएकामा प्रमुखसहित चार सदस्य कांग्रेसलाई र उपाध्यक्षसहित पाँच सदस्य एमालेलाई परेको हो ।

प्रमुखसहित चार सदस्य नेपाली कांग्रेसले पाउने भएपछि पार्टीको बैठकले निर्णय गरेर उम्मेदवार टुङ्ग्याएको कांग्रेस प्रवक्ता भरतराज लम्सालले जानकारी दिए । उनका नेपाली कांग्रेसले प्रमुखमा श्रीप्रसाद जिटी, सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँणलाई सिफारिस गरेको छ । पार्टीमा लामो समयसम्म सङ्घर्ष गरेको र पार्टीप्रति देखाइएको योगदानको कदर गर्दै समन्वय प्रमुखमा पठाउने निर्णय गरिएको प्रवक्ता लम्सालले जानकारी दिए ।

कांग्रेसका पूर्वजिल्ला सभापति, नेविसङ्घका संस्थापक सभापति रहेका जिटीले प्रजातन्त्र स्थापनाका लागि पटकपटक जेल जीवन बिताएका थिए । एमालेले उपप्रमुखसहित पाँच सदस्यको नाम टुङ्ग्याउनका लागि अहिले छलफलमा जुटेको पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए ।

जेठ ३१ गते जिससको निर्वाचन गर्ने गरी आइतबार मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष गरी २२ जनाले मतदान गर्न पाउनेछन् । स्याङ्जाका ११ स्थानीय तहका ९७ वडाबाट निर्वाचित भएका नगर तथा गाउँसभाका सदस्य उम्मेदवार बन्न पाउनेछन् ।

एघार स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष गरी २२ जनामध्ये नेपाली कांग्रेसका ११ जना र नेकपा एमालेका ११ जना छन् । जिससमा दुवै राजनीतिक दलबाट ११/११ जना अर्थात् सङ्ख्या बराबरी छ । जिससमा अध्यक्ष, उपाध्यक्ष, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक, तीन अन्यसदस्य गरी कूल नौ जना निर्वाचित हुनेछन् ।

जिल्लासभाका प्रमुख र उपप्रमुखमा जिससकै प्रमुख र उपप्रमुख रहने व्यवस्था छ । जिसस गठन भएसँगै जिल्लासभा गठन हुनेछ । जसमा नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख पदेन सदस्य रहनेछन् । यसअघि २०७४ को निर्वाचनबाट जिससको अध्यक्ष, उपाध्यक्षसहित सबै प्यानलमा नेकपा एमाले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja