गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने
पोखरा
गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने भएको छ ।
प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा सो कार्यक्रम उल्लेख गरिएको छ । बजेटमा प्रदेशभित्र रहेका प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडीको बिमा गरिने उनले बताए ।
साथै प्रदेशमा साहसिक खेलकुदको विकासका लागि आवश्यक बजेटको व्यवस्था रहेको बरालको भनाइ छ । यसका साथै विगतको बजेटमा व्यवस्था गरिएको ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा एउटा सुविधासम्पन्न रंगशाला रहे पनि बाँकी जिल्लामा खेलकुद गतिविधिहरु हुन सकेका छैनन् । गण्डकी प्रदेशलाई भलिबल खेलको सम्भावना भएको प्रदेशका रुपमा लिने गरिन्छ ।