साउन १३ र १४ गते पोखरामा महानगरका मेयरहरूको सम्मेलन हुने
पोखरा
साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुने भएको छ ।
महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए ।
उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भएपनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिनेछ ।
यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो । सम्मेलनमा महानगरको सञ्चालन कानुन फरक हुनुपर्ने आवाज उठे पनि कार्यान्वयनमा गएन । यसपालि पनि महानगरको छुट्टै सञ्चालन ऐन निर्माणका लागि छलफल हुन सक्ने बताइएको छ ।
आचार्यले १ महिनाअघि देखि मेयर सम्मेलनको लागि निम्तो गरेका थिए । सबै महानगरका मेयरसँग छलफल गरेर भेला आयोजना गरिएको उनले बताए ।