म्याग्दीका प्रमुख सडक अवरुद्ध, सतर्कता अपनाउन अनुरोध 



पोखरा

म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् ।

जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। बर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बागलुङ-बेनीबाहेकका अन्य प्रमुख सडक अवरुद्ध बनेको जानकारी दिए ।  मालढुङ्गा-बेनी, बेनी-जोमसोम र बेनी-दरवाङ सडकको ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको नेपालीले बजानकारी दिए । 

म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकको विभिन्न ठाउँमा पहिरो खसेर गए रातिदेखि सवारी साधन चलेका छैनन् । मालढुङ्गा-बेनी सडक स्तरोन्नतिका लागि निर्माणाधीन अवस्थामा छ ।  

बेनीदेखि पोखरा, काठमाडौँलगायत सहरमा जाने आउने सवारी साधनलाई बागलुङ-बेनीको वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लालाई जोड्ने बेनी-जोमसोम सडक जलेश्वर, बेगखोला, नैनीबगर र रुप्सेमा अवरुद्ध छ । 

जलेश्वरमा पहिराले सडक कटान, बेगखोला र रुप्सेमा बाढी तथा नैनीबगरमा पहिरो खसेर अवरुद्ध बनेको हो । यसैगरी मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक पनि घुमाउने भिर र बाङ्गेपहिरोमा अवरुद्ध बनेको छ । 

दुवै ठाउँमा पहिरो खसेर यातायातका साधन आवत-जावत गर्न नसक्ने अवस्था छ । बेनी-जोमसोम-कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, स्थानीय तह र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने प्रयास गरे पनि निरन्तरको बर्षातका कारण समस्या भएको छ । 

शनिबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । म्याग्दी, कालीगण्डकी, राहुघाट र अन्य सहायक नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्र तथा पहिराको जोखिममा रहेका ठाउँका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja