आफ्नै छाेरीलाई खाल्डाेमा फालेर मारेको आरोपमा आमा पक्राउ
पोखरा
आफ्नै छ महिने नाबालिग छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न रहेको आरोपमा स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुङ्गा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ गरी अनुसन्धानका क्रममा रानाले छ महिनाको छोरीलाई १० गते राति १२ बजेको समयमा घरकै अस्थायी ट्वाइलेटको खाल्डोमा फालेको खुलेकाले खोजी गर्दा सडेगलेको अवस्थामा बच्चाको लास फेला परेको थियो ।
प्रहरीले राना र कुमाल दुवैलाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको बताएको छ ।