पोखरा ४ मा पनि सार्वजनिक शौचालय सञ्चालन हुने
पोखरा
स्थानीय निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएको १०० औं दिनको अवसर पारी पोखरा महानगरपालिका वडा नं. ४ मा पनि शुक्रबारदेखि सार्वजनिक शौचालय सञ्चालन गरिने भएको छ ।
देशकै मुख्य पर्यटकीय शहर पोखराको मुख्य बजार क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा वडा कार्यालयले निजी साझेदारीमा शौचालय सञ्चालन गर्न लागिएको वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । उक्त शौचालय वडा कार्यालय र हिमालयन गार्डेन मिनी मार्केटको संयुक्त प्रयासमा सञ्चालन गर्न लागिएको उनले बताए ।
महानगरले सार्वजनिक सूचना जारी गरी शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आह्वान गरेअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यक्ति तथा व्यावसायिक संस्थासँग सम्झौता गरिएको हो । प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस् भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राखिएको छ ।