बैंक तथा वित्तीय संस्थाहरूले भदौ २६ देखि नयाँ नोट सटही गर्न पाउने
पोखरा
यो वर्षको दसैँ, तिहार र छठका लागि भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट नयाँ नोट सटही गर्न पाउने भएका छन् ।
सर्वसाधारणलाई भने भदौ २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।
चालु आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालयहरू र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ अन्तिम साता देखि सहज तरिकाले नयाँ नोट वितरणको वातावरण मिलाइने बैंकले जनाएको छ ।