बागलुङ रामतोलामा पहिरो खस्दा दर्जनभन्दा बढी घर जोखिममा
पोखरा
बागलुङ नगरपालिका ११ तल्लो रामतोलामा पहिरो खस्दा दर्जनभन्दा बढी घर जोखिममा परेका छन् ।
सयौं रोपनी जमिनको सुन्तला खेती, अन्य अन्नपातसमेत बग्न थालेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । उनका अनुसार केही दिनदेखि जमिन चर्केकोमा बुधबार बिहानदेखि पहिरो चल्न थालेको हो ।
पहिरोले सडक र जंगल तथा पीपलको चौतारो समेत बगेपछि गाउँभरी त्रास फैलिएको छ । यहाँका ५० घरमा खानेपानी अभाव भएको छ । पोल ढलेकोले आसपासका अन्य घरमा समेत बिजुली अवरुद्ध भएको गौतमले जनाए ।
उक्त पहिरोले स्थानीय कुलराज शर्मासहित दर्जनबढी घरपरिवार विस्थापित भएका छन् । केही घर परिवार सुरक्षित ठाउँको खोजीमा रहेको स्थानीय विष्णु पौडेलले जानकारी दिए । जमिन चिरा परेको स्थान हेर्दा थप सयौं रोपनी जमिन, घर तथा सडक बग्ने अबस्थामा रहेको देखिएको उनले बताए ।