पर्वतमा कैदीबन्दीलाई छुट्टै मतदान केन्द्रको व्यवस्था
पोखरा
अघिल्ला निर्वाचनमा मतदानबाट वञ्चित कैदीबन्दी, कर्मचारी, निर्वाचनमा खटिने सुरक्षाकर्मी लगायतका लागि यो पटक छुट्टै मतदान केन्द्र रहने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्वतमा कारागार र अस्थायी मतदाताका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले आइतबार कुश्मामा आयोजना गरेको निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयले सदरमुकामस्थित कुश्माको जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा गरी दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले कारागारका ३५ जना कैदीबन्दी र जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायत अन्य व्यक्तिहरूसमेत गरी १ हजार ६ सय ७० जनाले संघीय संसद्का लागि समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने छन् । यसअघि जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि १६ सय ८३ जनाको नामावली अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएको थियो । दोहोरो नामावली नपर्ने गरी आयोगले अद्यावधिक गर्दा रेकर्डमा नभेटिएकाले १३ जनाको नाम हटेर १६ सय ७० जनाको नाम अन्तिम नामावलीमा आएकाले उनीहरूले मतदान गर्न पाउने निर्वाचन अधिकारी शर्माले जानकारी दिए । कारागारमा रहेका १ सय ५ जना कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम भएका ५२ जनाको सूची पठाइएकामा ३५ जनाको मात्रै अस्थायी नामावलीमा दर्ता भएर आएको उनले बताए ।
आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा समानुपातिकतर्फ अस्थायी मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । अस्थायी मतदाताले अन्य मतपत्रमा भने मतदान गर्न नपाउने मतदाता नामावली ऐन, २०७३ को दफा ३० मा व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतका सूचना अधिकारी ज्ञानेन्द्र शर्माले बताए । संघीय संसद्को एक र प्रदेशको दुई निर्वाचन क्षेत्र रहेको पर्वतमा ६० हजार ६ सय ५१ पुरुष र ६१ हजार ९ सय ९८ महिला गरी कुल १ लाख २२ हजार ६ सय ५९ मतदाता छन् । पर्वतमा ७४ मतदानस्थलमा १ सय ४८ स्थायी मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनको सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढेको निर्वाचन अधिकृत शर्माले बताए । उनका अनुसार निर्वाचन सामग्रीहरू जिल्ला आइसकेका छन् । ‘अहिले केन्द्र छुट्याएर प्याकिङ भइरहेको छ,’ उनले भने, ‘त्यसबाहेक कर्मचारी खटनपटनको काम पनि भइरहेको छ ।’ यसपटक चार वटा मतपत्र हुने भएकाले मतदानस्थल साँघुरो हुने आयोगको अनुमान छ । ‘साँघुरो स्थानलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर हामी प्रायः सबै मतदानस्थलको निरीक्षण गरिसकेका छौं,’ मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठले भने, ‘कसरी हुन्छ व्यवस्थापन गरेर सहज बनाउन हाम्रो प्रयत्न रहन्छ ।’ यसैबीच जिल्ला सुरक्षा समितिले हरेक मतदानस्थल र केन्द्रको स्थलगत निरीक्षण गरी सबै मतदान केन्द्रको सुरक्षार्थ सुरक्षाकर्मी तैनाथ रहेको जनाएको छ ।