नवलपुर जिल्ला प्रशासनद्वारा विपन्न परिवारलाई कम्बल वितरण
पोखरा
पूर्वी नवलपरासीमा जिल्ला प्रशासन कार्यालयले जाडोले कठांग्रिएका विपन्न परिवारलाई १० लाख मूल्य बराबरको कम्बल वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले गृहमन्त्रालयको विपद् कोषबाट प्राप्त १० लाख रुपैयाँले यहाँका ८ वटा पालिकाका विपन्न परिवारलाई कम्बल खरिद गरेर बाँडिएको जानकारी दिए । एक सातादेखि बढ्दो जाडोले कठांग्रिएका परिवारको पहिचान गरी हरेक घरमा एउटा–एउटा कम्बल बाँडिएको उनले बताए । गत दुई दिनमा यहाँका ९ सय ८० घरपरिवारलाई कम्बल बाँडिएको हो ।
रेडक्रसका प्रतिनिधि र स्थानिय वडाध्यक्षको रोहबरमा विपन्न परिवारलाई कम्बल बाँडिएको हो । जाडोबाट बचाउन भन्दै गृह मन्त्रालयले हरेक जिल्लामा पहिलो चरणका लागि १०, १० लाख रुपैयाँ जिल्ला विपद् कोषमा पठाएको छ । जिल्ला प्रशासन कार्यालयले चिसोबाट जोगाउन भन्दै अघिल्लो साता यहाँका चोकचोकमा दाउरा बाँडेको थियो ।