पोखरा चाउथेस्थित एक फर्निचरमा आगलागी, दुई जना घाइते
पोखरा
पोखरा महानगरपालिका वडा नं. १४ चाउथेस्थित पाल्पा भैरव फर्निचरमा आगलागी भएको छ । सो आगलागीमा परि दुई जना घाइते भएका छन् भने करोडौँको क्षति भएको छ । घाइते हुनेमा उद्योगमै कार्यरत राहुल गुरुङ र आशिष गुरुङ रहेका छन् ।
घाइतेमध्ये राहुलको गण्डकी मेडिकल कलेज (जिएमसी) मा र आशिषको ग्यालेक्सी हस्पिटलमा उपचार भइरहेको छ । राहुललाई आइसियूमा राखेर उपचार भइरहेको फर्निचर उद्योगका सञ्चालक दीपककुमार कार्कीले जानकारी दिए । अर्का घाइते आशिषको पछाडिपट्टिको भाग जलेको भएपनि अवस्था सामान्य रहेको उनले बताए । उद्योगमा राति ६ जना सँगै सुतेका थिए । आगलागी भएको थाहा पाएपछि अन्य चार जना भने पर्खाल नाघेर भाग्न सफल भएका कारण सकुशल रहेको बताइएको छ ।
बुधबार राति भएको आगलागीबाट फर्निचरमा ठूलो क्षति पुगेको छ । टिनको टहरा मुनि सञ्चालन गरिएको फर्निचरमा आगलागीबाट फर्निचर, प्लाइउडका सामान र मेसिनरी सामानसमेत नष्ट भएको छ । आगलागीबाट करिब तीन करोडको क्षति भएको अनुमान गरिएको छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।