म्याग्दीको रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने
पोखरा
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो । आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले रुप्से खोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि सवारीसाधन आवातजावत सहज बनाउन बेलिब्रिज राख्न लागिएको बताए ।
“ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले बेलिब्रिज राख्न पूर्वाधार निर्माण सुरु गरेका छन्”, उनले भने, “एक वर्षभत्रमा बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।” बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले रु तीन करोड ५६ लाखमा यसै महिना ठेक्का सम्झौता गरेका छन् ।
सो कम्पनीका सञ्चालक ओम गौचनले सम्झौता लगत्तै बेलिब्रिजको फाउण्डेशन र पर्खाल निर्माणको काम थालेको बताए । कम्पनीमार्फत बेलिब्रिज निर्माणका साथै रुप्सेखोला नजिकै सडक निर्माण र पहिरो पनि पन्छाउने सम्झौता भएको छ । विसं २०६४ मा जडान गरिएको महभिर र पोखरे बगरको बेलिब्रिज त्यहाँ पक्की पुल बनेपछि एक वर्षदेखि प्रयोगविहीन छ । सो मध्यै एक वटा बेनी–बगरफाँट र अर्को रुप्से खोलामा स्थानान्तरण गर्न लागिएको हो ।
पुलको अभावमा वर्खायाममा रुप्से खोलामा बाढी आउँदा मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा अवरुद्ध हुने गरेको छ । विसं २०७७ साउनमा बाढीले रुप्से खोलामा निर्माणाधीन पक्की पुलको संरचना बगाएपछि निर्माण रोकिएको छ ।
निर्माणका क्रममा रहेको रुप्से र मुस्ताङको खहरेखोलाको पुलको संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दुरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बेनी जोमसोम कोरला सडक आयोजनाले जनाएको छ ।
४० मिटर लम्बाइ भएको रुप्से खोलाको पुलको दुईतर्फ पिलर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जग नै खलबल्याउने गरी बाढीले बगाएपछि स्पाम ९लम्बाइ० बढाउन लागिएको छ । भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भएको हो ।