सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ



 

पोखरा

पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । आइतबार साँझ उनलाई बूढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको गृह मन्त्रालयले जनाएको छ । हिजो राति काठमाडौं छिरेको सूचना पाएको प्रहरीले आज साँझ सफलता हासिल गरेको हो । रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो । सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

खाँडलाई प्रहरी प्रधान कार्यालयको विशेष व्यूरोको टोलीले पक्राउ गरेको हो । यसअघि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले अदालतमा मुद्धा बुझाउने तयारी गरे पनि रायमाझी फरार भएसँगै प्रहरीलाई समस्या भएको थियो ।  उनको खोजीका लागि ७७ जिल्लाका प्रहरी सक्रिय भए पनि फेला नपर्नु र एमालेका जनवर्गीय संगठनले पनि कही कतै फेला परेको जानकारी नगराउनु मात्र होइन सीआईबीको टोलीले उनलाई फेला पार्न सकेको थिएन ।

रायमाझीको खोजी गर्न नेपाल-भारत सीमा क्षेत्रमा पुगेको टोलीले पनि कुनै सुराक फेला पारेको थिएन । सरकारी वकिल कार्यालयले आजको चार दिनपछि मुद्धा ल्याउन प्रहरीलाई निर्देशन दिइसक्दा पनि उनी फेला नपर्नुले उनी कतै नेपालभित्रै लुकेका छन् कि भन्ने आशंका पैदा भएको थियो । नभन्दै उनी काठमाडौंबाटै पक्राउ परेका हुन् । रायमाझी भैरहवाबाट काठमाडौं आउन लागेका बेला बैशाख २० गते रातिबाट सम्पर्कविहीन भएपछि भारतको लखनउ र गोरखपुरमा पुगेको जानकारी प्रहरीलाई थियो ।

तर प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्दा उनी फेला नपरेपछि भने नेपालभित्रै खोजी जारी राखेको थियो । सीआईबीले कुनै सुराकी पाइन्छ कि भनेर संसदमा ईमेलमार्फत आएको पत्र प्रिन्ट गरेर जाने व्यक्तिको खोजीका लागि पनि सीसीटीभी फुटेज समेत लिएर गएको थियो ।  रायमाझी शुरुमा लखनउ र गोरखपुर बसेको र पछि दिल्ली पुगेको सूचना पाएपछि सीआईबीको टोली भारतीय प्रहरीको समन्वयमा नेपाल भारत सीमामा पुगेको थियो । भारतीय दूतावासमार्फत् रायमाझीलाई काठमाडौं ल्याउन सहयोग माग्दै सीमा क्षेत्रमा पुगेको थियो । तर प्रहरीले कुनै प्रगति हासिल गर्न सकेको थिएन ।

बैशाख २० गते अर्घाखाँचीको कार्यक्रम सकेर उनी त्यसै दिन राति काठमाडौं आउने तयारीमा थिए । सोही अनुसार उनले भैरहवाबाट काठमाडौं आउनका लागि हवाई टिकटसमेत काटेका थिए । तर छोरा पक्राउ परेको जानकारी पाएपछि उनी एकाएक सम्पर्कविहीन भए । सम्पर्कविहीन हुनुअघि रायमाझीले प्रहरी नेतृत्वसँग सम्पर्क गर्दै आफू प्रहरीसामू उपस्थित हुने बताएका थिए । रायमाझीले आफैँ उपस्थित हुन्छु भनेपछि प्रहरीले तत्कालै पक्राउ गर्ने तदरुकता देखाएन । उनी सम्पर्कविहीन हुनुअघि एमालेको शीर्ष तहसँग सम्पर्कमा रहेको प्रहरी स्रोतले जनाएको छ ।

यो प्रकरणमा रायमाझीसहित अहिलेसम्म १३ जना पक्राउ परेका छन् । कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, उनका सहयोगी नरेन्द्र केसी, काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पक्राउ परेका छन् ।

यस्तै, रायमाझीका छोरा सन्दीप, सरकारका सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका-२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका-१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका-७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्ववडाध्यक्ष सागर राई गरी १२ जना अहिले हिरासतमा छन् । सो प्रकरणमा मुछिएर पक्राउ पूर्जी जारी भएका तीन जना अझै फरार रहेका छन् । इन्द्रजित राईका छोरा निरज, कांग्रेस नेता आङटावा शेर्पा, रामबहादुर थापा बादलका छोरा प्रतिक थापा फरार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja