बढी भाडा लिनेलाई जरिवाना
रासस
पोखरा, ८ कात्तिक
चाडपर्वको मौका छोपी बढी भाडा असुल्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जरिवाना गरेको छ ।
पोखराबाट काठमाडौँ जाँदै गरेको ना४ख ९५१३ नंको बसले यात्रुसँग बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले उक्त सवारीलाई जरिवाना गर्दै बढी भाडा यात्रुलाई फिर्ता गराएको हो ।
शुभ अधिकारी ट्राभल्सले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिँदै अर्कै बसमा यात्रु राखेको पाइएपछि कारवाही गरिएको ट्राफिक इञ्चार्ज कृष्ण क्षेत्रीले बताए । पोखरादेखि काठमाडौँसम्मको भाडा रु ५०० भए पनि यात्रुसँग रु ६०० र रु ७०० सम्म भाडा असुलेको पाइएको उनले जानकारी दिए ।
उनका अनुसार १५ जना यात्रुको बढी भाडा फिर्ता गराइएको छ । साथै उक्त बसलाई बढी भाडा लिएको आरोपमा रु एक हजार ५०० जरिवाना गराइएको छ ।