दक्षिण कोरियाद्वारा अमेरिकी सेनाको तलब वृद्धिको घोषणा



पोखरा, २८ माघ ।

दक्षिण कोरियाली भूमिमा कार्यरत अमेरिकी सेनाको व्यवस्थापनका लागि बजेट बढाउनेबारे सहमति भएको सोलले आइतबार जानकारी गराएको छ।

लामो समयदेखि दक्षिण कोरियाको सहयोगीका रूपमा रहेको अमेरिकी सेनाको खर्चका लागि वासिङ्टनले गरेको अनुरोधमा सो तलब वृद्धिको निर्णय लिइएको बताइएको छ। दक्षिण कोरियाले सेनाको खर्चबारे अमेरिकासँगको विवादलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच दोस्रो वार्ता हुने मिति तय भएको केही घण्टाभित्रै अन्तिम रूप दिएको हो। सन् १९५० देखि सन् १९५३ सम्म चलेको कोरियाली युद्धका समयदेखि नै अमेरिका र दक्षिण कोरियाबीच सुरक्षा गठबन्धन रहँदै आएको छ। कोरियाली प्रायःदीपमा भएको तनाव कम गर्न युद्धविराम गरिएपनि शान्ति सम्झौता हुनसकेको छैन। जसको अर्थ दुई कोरिया अहिले पनि प्राविधिक रूपमा युद्धविरामको अवस्थामा मात्रै रहेका छन्। दक्षिण कोरियामा प्योङयाङको तर्फबाट सुरक्षा खतरा भएको भन्दै २८ हजारभन्दा बढी अमेरिकी फौज तैनाथ छ। तर अमेरिकी राष्ट्रपति ट्रम्पले पटकपटक अमेरिकी सुरक्षा फौजलाई दक्षिण कोरियामा राख्दा हुने खर्चमध्ये सोलले हालको खर्चलाई दोब्बर बनाउनुपर्ने बताउँदै आएका थिए।

वासिङ्टन र सोलका प्रतिनिधिबीचको सहमति अनुसार अघिल्लो पाँच बर्षका लागि गरिएको सम्झौताभन्दा ८.२ प्रतिशत बढी रकम दिइने छ। दक्षिण कोरियाली विदेश मन्त्रालयले सन् २०१९ मा अमेरिकी सेनाको व्यवस्थापनका लागि ९२ करोड ४० लाख अमेरिकी डलर बुझाउने सहमति भएको बताएको छ।

मन्त्रालयका अनुसार अमेरिकाले कोरियाली भूमिमा रहेको उसको सेना व्यवस्थापनका लागि ठूलो मात्रामा बजेट वृद्धिका लागि माग गरेको भएपनि दुई मुलुकबीच उक्त रकम भुक्तानीको सहमति भएको हो।सहमतिपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दुवै मुलुकले दक्षिण कोरिया–अमेरिकाबीचको मजबुत सहकार्य रहिरहनुपर्नेमा पुनः जोड दिएका छन्।’

खर्चको विवादले अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा रहेका अमेरिकी फौज फिर्ता गर्न सक्ने भन्दै विश्लेषकहरूले संकेत दिएका थिए।
यसै महिनाको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच भियतनामको राजधानी हनोइमा हुने दोस्रो शिखर वार्ता हुँदैछ। दोस्रो शिखर वार्तामा दुई नेताले दक्षिण कोरिया र उत्तर कोरियाबीच विद्यमान दशकौं लामो युद्धविरामलाई अन्त्य गर्दै स्थायी शान्तिको प्रस्तावनाको घोषणा गर्नसक्ने अनुमान गरिएको छ। गत वर्षको जुन १२ का दिन सिंगापुरमा भएको पहिलो ऐतिहासिक शिखर बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले अनपेक्षित रूपमा अमेरिका तथा दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका थिए। ट्रम्पको सो निर्णयले दक्षिण कोरियालाई तनावमा पारेको थियो। ट्रम्पले गत साता एक अमेरिकी सञ्चारमाध्यम सिबिएसलाई दिएको अन्तर्वार्तामा अमेरिकाले तत्काल आफ्नो फौजलाई हटाउने योजना नभएको बताएका थिए।

 

 

nagariknews

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja