राष्ट्रियतामा गम्भीर बन्न अध्यक्ष केसीको आग्रह
पोखरा
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियताका सवालमा सरकार गम्भिर बन्नुपर्ने बताएका छन्।
अनेरास्ववियु (छैटौं) ले ५४औं विद्यार्थी दिवसको अवसरमा आयोजना गरेको ‘राष्ट्रियतामाथिको सङ्कट र विद्यार्थी आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले मुलुकमा कम्युनिष्ट पार्टीको शासन भएको बेला राष्ट्रियताका सवालमा कसैसँग झुक्न नहुने बताए। मुलुकको राष्ट्रियता कमजोर बनाउने प्रयास गरिएकाले सरकार सचेत रहनुपर्ने अध्यक्ष केसीको भनाइ थियो । उनले नागरिकता वितरण गर्ने प्रणालीलाई कडाई गर्नुपर्ने बताए । नागरिकता वितरण प्रणाली खुकुलो बनाएकाले भारतीयले समेत नेपाली नागरिकता लिएको अध्यक्ष केसीले उल्लेख गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले अन्य मुलुकजस्तै नेपालमा पनि नागरिकता वितरणमा कडाई गर्नुपर्ने बताए । उनले नागरिकता वितरणमा कडाई नगरे मुलुकको राष्ट्रियतामा गम्भिर असर पर्ने बताए । कम्युनिष्ट पार्टीको विधि विधानलाई टेकेर नै आफूले राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएको नेता रावलको भनाइ थियो । “माध्यमिक तहको पाठ्यक्रममा राष्ट्रियताको विषय समेटिएको विषयवस्तु समावेश गर्नुपर्छ”, उनले भने । कार्यक्रममा अखिल ९छैटौँ०का अध्यक्ष विमल पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रियताको रक्षार्थ विद्यार्थीले खेलेको भूमिका उल्लेखनीय रहेको बताए ।