कोहलीले कीर्तिमान बनाएको खेलमा भारतले दक्षिण अफ्रिकालाई हरायो
पोखरा
दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी-२० खेलमा भारत ७ विकेटले विजयी भएको छ ।
बुधबार मोहालीमा भएको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा १४९ रन जोड्यो । उसका लागि कप्तान क्वान्टन डे ककले ३७ बलमा ५२ रनको योगदान दिए ।
बलिङमा भारतका दीपक चाहरले २ विकेट लिए । नवदीप सैनी, रविन्द्र जडेजा र हार्दिक पाण्ड्याले १-१ विकेट लिए ।
१५० रनको लक्ष्य भारतले १९ ओभरमा पूरा गर्यो । भारतका लागि कप्तान विराट कोहलीले नटआउट ७२ रन बनाए । उनले ५२ बलमा ६ चौका र ३ छक्का हिर्काए ।
जससँगै कोहली टी-२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । टी-२० मा अहिलेसम्म शतक नबनाए पनि उनले २२ अर्धशतक प्रहार गरिसकेका छन् । बुधबार अर्धशतक बनाएपछि उनले टी-२० अन्तर्राष्ट्रिय खेलमा २४८१ रन जोडे ।
कोहलीले भारतकै रोहित शर्मालाई पछि पारेका हुन् । दोस्रो स्थानमा झरेका रोहितले ९७ टी-२० खेल खेल्दै २४३४ रन बनाएका छन् । जसका लागि उनले ४ शतक र १७ अर्धशतक बनाएका छन् ।
बुधबार हात पारेको जितसँगै तीन खेलको सिरिजमा भारतले १-० ले अग्रता लिएको छ । यसअघि पहिलो खेल वर्षाले रद्द भएको थियो ।
सेतोपाटी बाट साभार