धनुषामा चक्कु देखाएर लुटपाट
पोखरा
धनुषाधाम नगरपालिका ८ कुम्हरा टोलस्थित विजय यादवको घरमा लुटपाट भएको छ । ४/५ जनाको संख्यामा आएको अज्ञात समुहले लुटपाट गरेको ढल्केवर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
उनका अनुसार लुटेरा समूहले विजय यादवकी छोरी कामनी यादवले लगाएको आधा तोलाको मंगल सुत्र, ज्वाइँ संजय यादवको घाटीबाट सोही परिणामको सुन, ४० तोला चाँदी र तीन थान मोबाइलसमेत लुटपाट गरेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार डाँका समूहले कुटपीट समेत गरेका छन् । परिवारका सदस्य लुटेराको आक्रमणबाट घाइते भएको छ ।
उनीहरूले पेस्तोल देखाएर लुटपाट गरेको पीडित परिवारको गुनासो छ । प्रहरीले भने चक्कु देखाएर लुटपाट गरेको पाइएको जनाएको छ ।
प्रहरी निरीक्षक सुवेदीले भने, ‘सामान्य कुटपीट भएको छ । पेस्तोल होइन, स्थानीयसँग बुझ्दा चाक्कु देखाएर लुटपाट गरेको बुझिएको छ ।’
लुटेरा समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।