डेढ महिना बढी त्रिपालमा बस्दै आएका मनाङको ताल गाउँ पुनर्वासको पर्खाइमा



पोखरा

गत असार १ गते बाढीका कारण गाउँ नै बगर बनेपछि त्रिपालको भरमा बस्दै आएका नासों गाउँपालिका-१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् ।

अविरल वर्षापछि मस्र्याङ्दी नदीमा आएको बाढीले ताल गाउँ पूरै बगर भएपछि स्थानीयवासी गाउँमाथिको डाँडामा विस्थापित भएका छन् ।

बाढीका कारण सो गाउँका ५९ घरपपिरवार पूर्णरूपमा विस्थापित भएका छन् । मरुभूमि बनेको गाउँ हेर्दै ताल गाउँका बासिन्दा पुनर्वास कहिले होला भन्दै बस्न बाध्य भएका छन् ।

बगर बनेको स्थानमा बस्ती बसाल्न सुरक्षित छैन । बाढीले गाउँ नै बगर बनेपछि पुनर्वासको आशामा बस्दा बस्दै आशा निराशामा परिणत हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको स्थानीयवासी मोहन गुरुङले बताए ।

“डेढ महिना बढी भइसक्यो त्रिपालमा बस्दै गाउँ हेर्दै बस्न बाध्य छौँ, कहिले पुनर्वास होला भन्ने आशामा छौँ, अहिले गाउँ नै पूरै डुबानमा छ, कहिले आरामका साथ घरमा बस्न पाइन्छ भन्दै सोचेर समय बिताइरहेका छौँ”, मोहनले भने ।

डाँडामा पनि बस्ती बस्ने उपयुक्त ठाउँ नहुँदा अझै चिन्ता थपिएको उनी बताउँछन् । ताल गाउँ अझै पनि मस्र्याङ्दी नदीको बाढीको डुबानमा छ । दिनभर मर्स्याङ्दी नदीको डुबानमा रहेको गाउँ हेरेर बिताइरहेको कान्छीमाया गुरुङ बताउँछिन् ।

ताल गाउँमा पुनः बस्ती बसाउन सक्ने सम्भावना न्यून छ । यस कारणले पनि सरकारले गाउँवासीलाई अन्य कुनै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने स्थानीयवासीको माग छ । बाढी प्रभावित ताल गाउँका बासिन्दा डेढ महिनादेखि त्रिपालको बासमा छन् । बाढी प्रभावितका लागि व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थामार्फत खाद्यान्न प्राप्त भए पनि सरकारबाट भने कुनै पहल नभएको उनीहरूको गुनासो छ ।

गाउँपालिका नै पूर्णरूपमा बाढीपहिरा प्रभावित भएकाले तालवासीलाई आवश्यकताअनुसारको सहयोग गर्न नसकेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । “पालिकावासीलाई दुःख परेको अवस्थामा गर्नुपर्ने जति सहयोग गर्न सकिएको छैन, गाउँपालिकाको प्रशासकीय भवन नै बाढीले बगाएपछि छिमेकी जिल्ला लमजुङमा अस्थायी कार्यालय राखेर सेवा प्रवाह गरिरहेका छौँ, विस्थापित बाढी प्रभावितको स्थानान्तरणका लागि प्रदेश सरकार र सङ्घ सरकारसँग सहयोगको समन्वय गरिरहेका छौँ”, अध्यक्ष घलेले भने ।

प्रदेश सरकार र सङ्घ सरकारबाट छिट्टै सहयोग हुने अपेक्षा गरेको उनले बताए । गाउँवासीको पीडा देख्दा आफैँलाई धेरै दुःख लाग्ने गरेको उनी बताउँछन् । मनसुन शुरु भएसँगै परेको अविरल वर्षाले मनाङ जिल्ला बाढीपहिराको डुबानको चपेटामा परेको हो ।

अविरल वर्षासँगै आएको बाढीपहिराले भौतिक तथा व्यक्तिगत संरचनामा पुर्‍याउँदा अर्बौंको क्षति भएको छ ।

मुख्य आयस्रोत पर्यटन व्यवसाय भएको मनाङमा कोभिडले गर्दा पर्यटकीय क्षेत्रमा आर्थिक मन्दी लागेको अवस्थामा बाढीपहिराले क्षति पुर्‍याएपछि यतिबेला मनाङवासी अझ बढी मर्कामा परेका छन् ।

-रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja