मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक ६ दिनपछि सञ्चालनमा
पोखरा
म्याग्दी को उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो ।
मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग सहमति गरेर सडक मर्मत गरी शनिबार साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
पहिराले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका स्थानीयवासी खड्क खत्रीले बताउनुभयो । जग्गाको क्षतिपूर्तिका लागि तत्कालै प्रक्रिया अघि बढाउने र बर्खालगत्तै संरक्षणको काम गर्ने सडक आयोजनाले प्रतिबद्धता जनाएको छ ।
बेनी–जोमसोम सडक अवरुद्ध हुँदै म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाका स्थानीयवासी समस्यामा परेका थिए । आवतजावतका लागि गाडी परिवर्तन गर्नुपर्ने झन्झट थियो । ढुवानी र निकासी ठप्प बनेको थियो । बिरामीलाई अस्पताल लैजान समस्या भएको थियो ।
मर्मतपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।