जनताका पीरमर्का बुझेर काम गछु- मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल
पोखरा
गृहजिल्ला नवलपुर भ्रमणमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार भएका कार्यक्रममा सहभागिता जनाउँदै झ्यालवास –डेढगाउँ सडकलाई प्राथमिकतामा राखेको बताएका छन् ।
दक्षिणको नाका त्रिवेणी र उत्तरको नाका कोरला जोड्ने यो सडक प्रदेशकै लाइफलाइन भएकाले प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन् ।
अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेको भन्दै मुख्यमन्त्री पोखरेलले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन भइरहेको र दीर्घकालीन रोकथामका लागि समेत अध्ययन भइरहेको जानकारी गराए ।
नारायणी नदीको कटान रोकेर किनारामा पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने भएकाले यसका लागि निजी क्षेत्रले चासो दिनुपर्ने भनाइ राखे ।
शनिबार बिहान उनले गैंडाकोट नगरपालिका वडा नम्बर १, धारापानी स्थित नवदुर्गा आधारभूत विद्यालयको भवन उदघाटन गरे ।
मुख्यमन्त्री पोखरेलले गैंडाकोट नगरपालिका ११, मुकुन्दपुरस्थित कभर्डहल अवलोकन गरेका छन् ।
युवाहरुलाई खेलकुदमा आकर्षित गर्दै अनुशासित समाज निर्माणका लागि खेलकुद जरुरी रहेको भन्दै क्षमताका आधारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका ४० जनालाई दुवैजनाले फूलमालाले स्वागत गरे ।
मुलकमा खेतीयोग्य जमीन पर्याप्त भएकाले कृषिमा आधुनिकीकरण गर्दै युवालाई आकर्षित गर्न सके समृद्धि प्राप्त हुने भनाइ राखे ।
मुख्यमन्त्री पोखरेलले गैंडाकोटमा बिपी अन्तर्राष्ट्रिय खेलमैदान, राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर लगायत दूरगामी महत्व राख्ने कार्यक्रमलाई प्रदेशले अघि सारेको बताए ।
मुख्यमन्त्री पोखरेल शनिबार नै देवचुली उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा सहभागी भए ।
संघकै कार्यालयमा भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकारले कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेको भन्दै उद्योगी व्यवसायीलाई पनि खोपको उपलब्धता अनुसार उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाए ।
उनले– दललले धोवादी हुँदै खैरेनी जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । कोरोनाका कारण व्यवसायीहरु सारै नै मर्कामा परेको भन्दै प्रदेश सरकारले ल्याएको व्यवसाय जीवन रक्षा कोषको कार्यविधि परिमार्जन गरेर सहज बनाउन जरुरी रहेको बताए ।
पार्टी कार्यालयमै नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) ले गरेको कार्यक्रममा १५ जना प्राविधिक नेल्टामा प्रवेश गरेका छन् । मुख्यमन्त्री पोखरेलले खादा मालासहित उनीहरुलाई नेल्टामा प्रवेश गराए ।
कुलोमा पुगेको क्षतिका कारण सयौं बिगाह खेतमा सिँचाइ रोकिएको भन्दै तत्काल सञ्चालनका लागि पहल गर्न स्थानीयले माग गरे । मुख्यमन्त्री पोखरेलले तत्कालका लागि तारजाली उपलब्ध गराउने र प्राविधिक टोलीले अध्ययन गरेपछि संघ सरकारसँग समन्वय गरेर निर्माणको काम थालिने प्रतिबद्धता जनाए ।
देवचुली नगरपालिका ५ स्थित झाँक्रेखोलाको सुकुम्वासी बस्तीमा पुगेर उनले स्थानीयका पीरमर्का बुझेका छन् । वन क्षेत्रमा ७ सय भन्दा बढी परिवार लामो समयसम्म बस्दै आएका छन् ।
मुख्यमन्त्री पोखरेल आइतबार बिहान गैंडाकोट उद्योग वाणिज्य संघले गरेको कार्यक्रम सहभागी भएपछि नारायणी नदीले गरेको कटान अवलोकन गरीआजै पोखरा फर्किने कार्यक्रम छ ।