पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नका लागि थपियो एक वर्ष
पोखरा
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड-१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।
उनले भने, “हामीले समयमै सम्पन्नका लागि द्रूत गतिमा काम गरेका छौँ तर कोभिड-१९ को कारण बाहिरबाट ल्याउनुपर्ने जनशक्ति र केही इक्युमेन्टको कारणले समय धकेलिन पुग्यो ।”
उनले विमानस्थल सञ्चालनका लागि विमानस्थल पूर्वमा रहेको अग्लो डाँडा र ल्याण्डफिल साइड हटाउने कार्य पनि समस्याको रुपमा रहेको र यसबारेमा पनि कार्य अघि बढेको जानकारी दिए ।
उनका अनुसार विमानस्थल निर्माणका लागि ७०० जति जनशक्ति रहेकामा अहिले पनि ४०० को हाराहारीले काम गरिरहेकाका छन् ।
चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको सो विमानस्थल कूल रु २२ अर्ब चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि शुरू भएको र सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो ।
आयोजनका इञ्जिनीयर मिनराज ओझाका अनुसार हालसम्म विमानस्थलको ८२ प्रतिशत काम सकिएको छ । फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्युवमेन्ट जडान, पाइपलाइन विच्छ्याउने तथा भित्री सडकका काम भइरहेका छन् ।
उनले हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन, टावर, नाला निर्माण, ह्याङ्गरसँगै रनवे लाइट, ट्याक्सी लाइट, एप्रोज लाइटलगायत १४ वटा संरचनाको फिनिसिङ कार्य भइरहेको जानकारी दिए।