गण्डकी प्रदेशका जेष्ठ नागरिकलाई आजदेखि दोस्रो डोज खोप लगाइँदै
पोखरा
गण्डकी प्रदेशमा कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई भूटान र जापानबाट अष्ट्राजेनिका खोप आएसँगै आज (सोमबार) देखि दोस्रो डोज खोप लगाइँदैछ।
कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई आजदेखि दोस्रो डोजका रुपमा अष्ट्राजेनिकाको खोप दिन लागेको हो ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिन लागिएको हो। प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र शुरु हुनेछ। स्वास्थ्य मन्त्रालयले आजदेखि खोप अभियान चल्ने जानकारी दिएको हो।
यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै अष्ट्राजेनिका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयलको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।
सरकारले आगामी असोज मसान्तभित्र एकतिहाई नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। यस्तै, आगामी चैत मसान्तभित्र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई पूर्ण खोप लगाउने सरकारको लक्ष्य छ।
नेपालमा हालसम्म खरिद र अनुदान गरेर करिब १ करोड मात्रा खोप आइपुगेको छ। नेपालले ६० लाख खोप खरिद गरेको छ। चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ।