पोखरामा जबरजस्ती करणी मुद्दाका आरोपीलाई छुटाइदिने भन्दै रकम माग गर्ने त्रिपाठी पक्राउ
पोखरा
आफ्नो प्रहरी, वकिल र अदालतसँग सेटिङ छ भन्दै गत फागुन १९ गते जबरजस्ती करणी मुद्दाका प्रतिवादीसँग एक करोड रकम माग गरी रु १२ लाखको चेक र १ लाख १० हजार नगद लिएर ठगी गर्ने मध्येका एक, पोखरा १८ सराङकोटका ४९ वर्षीय भोजराज त्रिपाठीलाई कास्की प्रहरीले पक्राउ गरेको प्रहरी इन्स्पेक्टर मुकेस न्यौपानेले जानकारी दिनुभयो ।
रकम दिए प्रहरी, वकिल र अदालतसँगको सेटिङमा मुद्दा मिलाइदिने नत्र १५ वर्ष जेल जाने भन्दै ठगी गर्ने सूर्यलाल खड्का र कमन भन्ने कमान बहादुर तामाङलाई तत्कालै राष्ट्र बैङ्क चोकस्थित एक खाजा घरबाट पक्राउ गरी मुद्दा दायर गरेकोमा सो घटनामा संलग्न रही हालसम्म फरार रहेका त्रिपाठी आज बुधबार पक्राउ परेको इन्स्पेक्टर न्यौपानेले जनाउनुभयो ।
ठगी र जबरजस्ती करणी कसुरमा मिलापत्र गराएको अभियोगको मुद्दाका प्रतिवादी त्रिपाठीलाई सराङकोटबाट पक्राउ गरी जिल्ला अदालत कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ ।