आज देशभर पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
पोखरा
संविधानसभाबाट संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
उहाँको जन्म सन् १९३९ अगस्ट १२ तारिखका दिन विराटनगरमा भएको थियो ।विद्यार्थीकालदेखि नै कोइराला राजनीतिमा क्रियाशील हुनुहुन्थ्योे । विसं २०१४ को भद्र अवज्ञा आन्दोलनमा पनि उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियोे ।
पार्टीको केन्द्रीय सदस्यदेखि महामन्त्री हुँदै कोइराला कांग्रेसको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो । विसं २०७० मङ्सिर ४ गते भएको दोस्रो संविधानसभाको निर्वाचनमा उहाँकै नेतृत्वमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको थियो । सो निर्वाचनपछि देशको नेतृत्व गर्नुभएका कोइराला सादगी र सन्त नेताका रुपमा नेपाली राजनीतिमा स्थापित हुनुभएको हो । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।
यो संविधानको सफल कार्यान्वयन भए र लोकतान्त्रिक पद्धतिलाई सवल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो महासङ्कटबाट पार पाउने काम सरकारको एकल पहलबाट मात्र सम्भव नहुने भएकाले आम नागरिक पनि सचेत भई स्वास्थ्य मापदण्डअनुसार आफ्नो र परिवारको ख्याल राख्न फाउन्डेसनले सबैमा आग्रह गरेको छ ।
यस अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ संघ एवं शुभेच्छुक संस्थाले पनि विभिन्न रचनात्मक कार्यक्रम गरी कोइरालाको जन्मजयन्ती मनाउँदै छन् ।
कोइरालाको २०७२ माघ २६ गते निधन भएको थियो । शालिन व्यक्तित्वका धनी कोइराला अविवाहित नेता हुनुहुन्थ्यो । उहाँको ८१ औँ जन्मयन्तीका अवसरमा गत वर्षदेखि फाउन्डेसनले समसामयिक विषयमा अन्वेषण यात्रा कार्यक्रम गर्दै आएको छ ।
-रासस