अफगानिस्तानको दोस्रो ठूलो शहर तालिबानको कब्जामा
पोखरा
विद्रोही तालिबान समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ ।
कुनै समय तालिबानको गढ मानिएको यो शहर व्यापारको हब रहेका कारण रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । यसअघि बिहीबार हेरात, घान्जी र क्वाला–इ–न शहरमा पनि तालिबानले कब्जा जमाएको थियो ।
संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो एक महिनामा मात्र अफगानिस्तानको युद्धमा एक सय आम नागरिक मारिएका छन् ।
तालिबानले अहिले उत्तरी अफगानिस्तानको अधिकांश क्षेत्रमा कब्जा जमाइसकेको छ । अफगानिस्तान सरकारको नियन्त्रणमा अब केबल राजधानी काबुल र केही सानातिना क्षेत्र मात्र बाँकी रहेको जनाइएको छ ।
यसैबीच आफ्ना कर्मचारीहरूलाई राजदूतावासबाट फिर्ता बोलाउन अमेरिकाले थप ३ हजार सेनालाई पुनः अफगानिस्तान पठाउने भएको छ । विशेष विमानबाट दूतावासका कर्मचारीहरूलाई उद्धार गर्न थप सेना पठाउन लागेको अमेरिकाले जनाएको छ ।
त्यस्तै बेलायतले पनि अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन ६ सय सैनिक पठाउने जनाइएको छ ।