पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन शुरु
पोखरा
पर्वत जिल्लाको महाशिला गाउँपालिका-६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक शुरु गरिएको व्यावसायिक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो ।
यस वर्ष साउन महिना लागेपछि मात्रै टिपेकाले झण्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए ।
इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । “वैशाखबाटै टिप्न शुरु गरेको भए ५० किलोग्रामभन्दा बढी उत्पादन हुने रहेछ”, वडाध्यक्ष सुनारले भने, “ढिलो गरी टिपेका कारण पाँच/सात किलोभन्दा उत्पादन गर्न सकेनौँ ।”
उचित संरक्षण र रेखदेखको अभाबमा चियाखेती फस्टाउन सकेको थिएन । दुई वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन शुरु गरेको सुनारले बताए ।
साविक फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले यहाँ चिया खेतीको सम्भावना रहेको छ । इलाम जिल्लाको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना शुरु गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो ।
“दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको हो”, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भने, “स्थानीयवासीको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको थिएन अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ ।”
एक हजार ८०० मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका विरुवा रोपिएको थियो । नगदेबालीको रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चिया खेतीको शुरुआत् गरेको थियो । साविक गाविसको ४ र ५ वडामा लगाएका विरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जीवितै रहेका थिए ।
फलामखानीका वडाध्यक्ष सुनारले अहिले पुराना बोट पनि राम्रो हुँदै गएको र उत्पादित चिया एकदमै स्वादिलो पाइएको बताए । अहिले स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । यस वर्ष थप १२ हजार बिरुवा रोप्न थालिएको छ ।
यस वर्ष स्थानीयवासीलाई चिया उत्पादन तथा प्रशोधनसम्बन्धी तीन दिने तालिमसमेत प्रदान गरिएको छ । अब समूह बनाएर यसको विस्तारमा लाग्ने बताइएको छ ।
यस वर्ष पनि रु तीन लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार गाउँ कार्यपालिकाको बैठकले नै चियाखेतीको लागि आवश्यक यन्त्र उपकरण खरिद गर्ने, उत्पादित चिया प्रयोगशालामा परीक्षणका लागि पठाउने निर्णयसमेत गरेको छ ।
पहिलोपटक उत्पादन गरिएको अर्गानिक चिया निकै गुणस्तरको पाएको र अब परीक्षण र थप क्षेत्रमा व्यावसायिक विकासको लागि गाउँपालिकाले योजना निर्माण गरी कार्य अगाडि बढाउने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । -रासस