कास्कीमा दुर्घटना न्यूनीकरण अभियान तीव्र



पोखरा

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कास्कीले दुर्घटना न्यूनीकरण अभियानलाई तीव्रता दिएका छन् । संयुक्त प्रयासमा सवारी साधनको स्वरुप परिवर्तन गर्ने, लेन अनुशासन पालना नगर्ने, ‘जिकज्याक’ बाइक कुदाउनेका विरूद्ध प्रहरीले विशेष निगरानी बढाएको हो ।

त्यस्तै ग्रामीण भेगमा सञ्चालित सवारीसाधनको अवस्थाबारे जानकारी लिने र सवारी साधनलाई राम्रो अवस्थामा राखेर मात्रै यात्रुलाई सेवा दिन अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो दुई दिनमा २६ वटा दुई पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । मोटरसाइकलकोस्वरूप परिवर्तन गरी चलाउने, गाउँ टोल नै थर्कने गरी आवाज निकाल्ने, जथाभावी र लेन अनुशासन विपरीत सवारीसाधन चलाउने सातवटा बुलेट, ११ वटा क्रसफायर र अन्य आठवटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारवाही गरिएको उहाँले जानकारी दिनुभयो ।

बन्दाबन्दी खुकुलो भएसँगै पोखरामा बढ्दो चाप र घुमफिरमा वृद्धि भएको छ । सवारी साधनकोस्वरुप परिवर्तन (मोडिफाई) पश्चात् दुर्घटनाको दरमा वृद्धि हुने र ठूला मोटरसाइकलको चर्को आवाजले समुदायमा नकारात्मक असर पर्ने गरेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले दैनिक अन्य सवारी नियम उल्लङ्घन गर्ने करिब १२० सवारी साधनलाई कारवाही गर्दै आइरहेको छ । जसमध्ये मापसे गरी सवारीसाधन चलाउने, जथाभावी सवारीसाधन पार्किङ गर्ने, सार्वजनिक सवारीसाधनले जथाभावी यात्रु चढाउने र उकाल्ने जस्ता सवारी साधनलाई कारवाही गरिएको जनाइएको छ ।

त्यस्तै ध्वनि प्रदूषणले नकारात्मक असर पर्ने र स्वास्थमासमेत असर पर्ने भन्दै ‘नो हर्न पोखरा’ अभियान नै सञ्चालनमा ल्याइएको छ ।

पोखरा महानगरपालिकाले ध्वनि प्रदूषणलाई मध्यनजर राखि २०७४ सालबाटै पोखरा महानगरलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

अनावश्यक रुपमा सवारी साधनले पोखरामा हर्न बजाएको फेला परेमा ट्राफिकको नियम अनुसार पाँच सयदेखि १५ सयसम्म जरिवाना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja