पोखरा अल्ट्रालाइटले भदौ ३ गतेदेखि सञ्चालन उडान सुरु गर्दै
पोखरा
पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन अल्ट्रालाइट उडानलाई पुनः व्यवस्थित तरिकाबाट विशेष स्वास्थ्य मापदण्ड अपनाएर भदौ ३ गतेदेखि सञ्चालन गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार पहिलो चरणको कोरोनाका कारण रोकिएको उडान आठ महिनापछि गत वर्ष कात्तिकको २६ गतेदेखि सुरु गरेकामा पुनः दोस्रो चरणको कोरोनाका कारण यस वर्ष वैशाखबाट उडान रोकिएको थियो ।
उनले पर्यटकीय गतिविधि सुस्ताएको समयमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहुलियत दिएर उडान गरिने बताए । “हामीले ६ हजार पाँच सयमा अल्ट्रालाइट उडानको आनन्द दिलाउने छाैँ,” श्रेष्ठले भने ।
माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने साथै तालतलैया एवं धार्मिक रुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसिक खेलको सहरका रुपमा समेत आफ्नो परिचय थप्दै गएको छ । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ ।