पोखरामा जागिर लगाइदिने प्रलोभनमा लाखौँ ठग्ने युवक पक्राउ



पोखरा

कास्की प्रहरीले पोखरामा एक घुमन्ते ठग युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आफूलाई युएनको इन्जिनियर तथा नेपाल राष्ट्र बैंकको कर्मचारी समेत रहेको भन्दै जागिर लगाइदिने प्रलोभन विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्दै आएका डोटी सयल गाउँपालिका -२ का २६ वर्षीय दिनेश सिंहलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

युएनमा जागिर लगाइदिने प्रलोभन देखाएर पोखरामा विभिन्न व्यक्तिलाई ठगी गरी फरार भएका सिंहलाई कास्की प्रहरीले इलाका प्रहरी कार्यालय रुपन्देहीसँगको समन्वयमा बुटवल उपमहानगरपालिका–९ मिलन चोकबाट सोमबार पक्राउ गरी मंगलबार पोखरामा ल्याएर सार्वजनिक गरेको हो।

पोखराका विभिन्न स्थानमा फरक फरक समयमा ट्याक्सी चालक तथा अन्य व्यक्ति गरी ५ जनासँग युएनमा आकर्षक जागिर लगाइदिने भन्दै १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार भएका सिंहलाई ठगीको उजुरी पश्चात् अनुसन्धान गरी बुटवलबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

पोखराका विनोद बि.क, होम बहादुर नेपाली, बुद्धि प्रसाद अधिकारी, स्याङ्जा फेदीखोला गाउँपालिका -१ घर भई पोखरा -८ बस्दै आएका युके गुरुङ र  पोखरा -५ रत्नचोक बस्ने ५६ वर्षीय युवराज पौडेललाई आकर्षक जागिर लगाइदिने भन्दै सिंहले उक्त रकम ठगी गरेका थिए।

सिंहले व्यक्तिहरूलाई प्रभावित गर्न तथा विश्वासमा पार्न विभिन्न व्यक्तिहरूलाई फोन गरेको जस्तो बहाना गरी युएनको गतिविधि तथा मिटिङको बारेमा फोनमा एक्लै कुरा गर्ने, पीडितको बैंक खाता खोल्ने लगायतका कार्यमा सहयोग गर्ने र पीडितहरूलाई कपडा, जुत्ता किनिदिनुका साथै होटलमा खाने बस्नेको व्यवस्था समेत मिलाउँदै आएका थिए ।

आफ्नो वास्तविक पहिचान लुकाएर पीडितहरूकै नाम तथा कागजपत्र र सिम कार्ड प्रयोग गरी एक अर्कालाई ठग्दै आएका घुमन्ते ठग सिंहले देशका विभिन्न स्थानमा गरेर ६० लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी तिवारीले बताउनुभयो ।

उहाँका अनुसार  सिंहले देशका विभिन्न भू-भागमा गरेर विभिन्न नाममा  १६ वटा ठगी गरेको  र उनी विरुद्ध महानगरीय प्रहरी परिसर महाराजगन्ज काठमाण्डौ, मकवानपुर, चितवन, ललितपुर, बाजुरा र धनगढी प्रहरीमा फरक फरक मितिमा ठगी मुद्दा दर्ता भएको छ  ।

सिंहले आफूलाई आफ्नो वास्तविक नामले कसैलाई नचिनाउने र सधैँ फरक फरक नामबाट पीडितहरूको विवरण प्रयोग गरेर ठगी गर्ने गरेकाले उनी प्रहरीको नजरबाट बच्न सफल भएको पाइएको छ । विलासी पूर्ण जीवन बिताउने सिंह देशका विभिन्न सहरमा पुग्ने क्रममा हवाईजहाज प्रयोग गर्ने गरेको र टिकट पनि पीडितहरूकै नाममा बनाएर हिँड्ने गरेको डिएसपी तिवारीले बताउनुभयो । अन्य सहरमा एक दुई वटा ठगी गर्ने गरेका सिंहले पोखरामा ५ वटा ठगी गरेको पाइएपछि गरिएको प्रश्नमा सिंहले अन्य ठाउँ भन्दा पोखरामा ठग्न आफुले सहज महसुस गरेको बताएको डिएसपी  तिवारीको भनाई छ ।

प्रहरीले सिंहको  साथबाट १ थान ल्यापटप, २ थान मोबाइल, पहेँलो रंगको १ थान सिक्री, १ थान औँठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ।

उनी विरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तर्गत सात दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान कार्य अघि बढाइएको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja