नेविसंघको अध्यक्ष छात्रालाई बनाउन माग
पोखरा
नेविसंघको अध्यक्ष छात्रालाई बनाउनुपर्ने माग उठेको छ। नेविसंघको अध्यक्ष राजिव ढुंगाना कांग्रेस केन्द्रीय सदस्य भएपछि उक्त पद रिक्त छ।
नेविसंघ स्थापनाको ५० वर्ष बितिसक्दापनि नेविसंघमा हालसम्म छात्राको नेतृत्व स्थापित हुन नसकेको भन्दै उनीहरुले पार्टीले गठन गर्ने तदर्थ समितिको नेतृत्व छात्रालाई दिनुपर्नेमा जोड दिएका हुन् ।
कांग्रेस महासमिति सदस्य एवं नेविसंघ पूर्व केन्द्रीय सदस्य प्रेमिका रानामगर , महाधिवेशन प्रतिनिधि एवं नेविसंघ पूर्व केन्द्रीय सदस्य गिता गुरुङ, नेविसंघ पूर्व केन्द्रीय सदस्य पुनम भट्टसहित २ दर्जनबढी नेविसंघ नेतृहरुले कांग्रेस पदाधिकारीहरुलाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् ।
उनीहरुले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, सहमहामन्त्री भीष्मराज आङदाम्बे, प्रवक्ता डा.प्रकाशशरण महत लगायतलाई भेटेर कांग्रेसलाई समावेशी चरित्रको बनाउन नेविसंघको तदर्थ समितिको अध्यक्षको छात्रा विद्यार्थीलाई दिन माग गरेका हुन् ।